फाइल तस्वीर
काठमाडौँ, असोज १३ गते ।
गत बिहीबारदेखि लगातार परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण देशभर अहिलेसम्म ९९ जनाले ज्यान गुमाएका छन् । सो कुराको जानकारी गृहमन्त्रालयले दिएको हो ।

अहिलेसम्म प्राप्त तथ्याङ्क अनुसार विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका र एक सय जना घाइते भएको जनाइएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीका अनुसार काठमाडौँमा २५ जना, ललितपुरमा १८ जना र भक्तपुरमा पाँच गरी काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ ।

गृह प्रवक्ता तिवारीका अनुसार मकवानपुर सात, सिन्धुपाल्चोक छ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गएको छ भने दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा दुई, महोत्तरी दुई, रामेछाप एक, झापा एक, उदयपुर एक, इलाम एक, सप्तरी एक र नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको गृहमन्त्रालयले जनाएको छ ।

शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो । उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् ।