फाइल तस्वीर
काठमाडौँ, असोज १३ गते । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । विगत तीन दिनदेखि देशले भोगको प्राकृतिक विपत्तीबाट भएको धनजनको क्षति, उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।

बैठक आज आइतबार दिउँसो १ः०० बजे सिंहदरकारस्थित प्रधानमन्त्री कार्यालय बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ । केही जिल्लामा मानवीय क्षति भएको छ । सडक, पुलपुलेसा पनि भत्किएका छन् । प्राकृतिक विपद्को यो विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लिन छ । यात्राका क्रममा अलपत्र परेकाहरुलाई  उद्धार गरी गन्तव्यमा पु¥याउने प्रयास भइरहेको छ । त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ । 

कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको उहाँको सचिवालयले जनाएको छ । 

अहोरात्र  सुरक्षाकर्मीहरु उद्धार, खोज, राहत र पुनःस्थापनामा परिचालित भइरहेका, कर्मचारी, सामाजिक सेवाका क्षेत्रमा क्रियाशील संघसंस्था, राजनीतिक दल, नागरिक समाज र स्थानीयबासी आफैं पनि लागिरहेका उल्लेख गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले यो विषम परिस्थितिमा विपद्मा परी ज्यान गुमाउनेहरुप्रति नेपाल सरकारकोतर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सबैलाई संयमित र एकताबद्ध भई पीडितको सेवामा परिचालित हुन आह्वान गर्नुभएको छ । मौसमविद्हरुका अनुसार वर्षा अझै पनि जारी रहने भन्ने जानकारी प्राप्त भएकाले थप क्षति हुनबाट जोगिन अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।