काठमाडौँ, असोज १२ गते । सरकारले अहिले चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा आज शनिबार दिउँसो आकस्मिक रुपमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।


कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको आपत्कालीन समन्वयात्मक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।


बैठकले अहिले सञ्चालन भइरहेको सबै परीक्षाहरू स्थगित गर्नुका साथै बाढी पहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय समेत गरेको छ ।


सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गुरुङले देशभर अवरुद्ध भएका सडक सञ्जालहरु खोल्नका लागि पनि भौतिक, पूर्वाधार मन्त्रालयले आवश्यक पहल गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । साथै, बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेको उपचार र निधन भएकाहरूलाई दिनुपर्ने राहत रकम नियम अनुसार प्रदान गर्ने निर्णय गरेको छ ।