फाइल तस्वीर
काठमाडौँ, असोज १२ गते ।
दुई दिनदेखिको लगातार परेको वर्षाका कारण आएको बाढी–पहिरोको चपेटामा परी देशभर अहिलेसम्म ४९ जनाले ज्यान गुमाएकाछन् । बाढी–पहिरोकै कारण सबैभन्दा धेरै ज्यान गुमाउनेको सङ्ख्या काठमाडौँ उपत्यका रहेको छ ।

उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उहाँले देशभरिमा ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिनुभयो ।

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ ।