प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली

काठमाडौँ, असोज १२ गते । अमेरिकाको भ्रमणमा रहनुभएका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् देशभरि अविरल वर्षाले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति साझा चुनौती भएकाले सबैले मिलेर त्यसको सामना गर्न आह्वान गर्नुभएको छ ।वर्षाबाट भएको असरबारे गृहमन्त्री रमेश लेखकसँग टेलिफोन गरी विवरणसमेत लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“बाढीपहिरोले मुलुकका विभिन्न स्थानमा जनधनमा क्षति भएका खबर आइरहेका छन् । आज गृहमन्त्री लेखकसँग टेलिफोन गरी यससम्बन्धी सबै जानकारी लिएको छु”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ । गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई उद्धार तथा राहत सामग्री वितरणमा खटाइएको जानकारी दिनुभएको थियो । 

“केही ठाउँमा उद्धारमा ढिलाइ भएको जानकारी प्राप्त भएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जिम्मेवारीपूर्वक उद्धार कार्य अघि बढाउनु होला”, प्रधानमन्त्रीले निर्देशन दिँदै लेख्नुभएको छ, “मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुनेछ । उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौँ । भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौँं ।”