काठमाडौँ, असोज ९ गते । नेपाल आहारपूरक सौन्दर्यवद्र्धक सङ्घ (एनएनसिए)ले आफ्नो पहिलो अधिवेशन यही असोज १२ गते आयोजना गर्ने भएको छ । देशभर ६ सय बढी न्युट्रास्युटिकललगायत आहारपूरक आपूर्ति गर्ने व्यवसायी छन् । सङ्घद्वारा अधिवेशनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विप्लप रञ्जितले नेपालमा न्युट्रास्युटिकल र कस्मास्युटिकल सामग्रीको आयात र बजारीकरणमा आफ्नो संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिराखेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आम उपभोक्ता तथा बिरामीलाई पोषणतत्वको अभावले विविध रोग लाग्नसक्ने र त्यसलाई रोक्न न्युट्रास्युटिकल्स प्रोडक्टको महत्व विश्वव्यापी रुपमा बढेको छ ।” 

उहाँका अनुसार नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिई यस्ता सामग्रीको आयात र बजारीकरण भइरहेको छ । अध्यक्ष रञ्जितले भन्नुभयो, “न्युट्रास्युटिकल शरीरको रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउने आहारपूरक खाद्य हो । नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टाछुट्टै छ । यी निकायबीचको समन्वय नहुँदा पनि समस्या देखिएको छ ।”

व्यवसायीले उपभोक्ताले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिनसक्ने व्यवस्थाको माग गर्दै आएका छन् ।  “चिकित्सकले बिरामी हुनाका कारण पहिचान गरेर निकट भविष्यमा पुनः बिरामी नहोस् भनेर न्युट्रास्युटिकल प्रेस्क्राइब गर्दै आउनुभएको छ कतिपय न्युट्रस्युटिकल रोगको उपचारसँगै दिइन्छ”, सङघका अध्यक्ष रञ्जितले भन्नुभयो, “बिरामीको शरीरलाई चाहिने जति पौष्टिकतत्व दाल, भात, तरकारी र मासुले मात्र पुग्दैन । यस्तो अवस्थामा न्युन्ट्रास्युटिकलले आहारपूरक खाद्यको पूर्ति गर्दछ ।”

बिरामीको रोगप्रतिरोधात्मक क्षमता बढाउन  चिकित्सकको सिफारिस एवं आफूलाई आवश्यक आहारपूरक सामग्री उपभोग गर्न सकिने सङ्घले जनाएको छ । सङघले आहारपूरक र सौन्दर्यप्रवद्र्धक व्यवसायलाई सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि व्यवसायीलाई एकत्रित गर्ने र बजारको अस्वस्थ्य प्रतिस्पर्धालाई रोक्न प्रतिबद्ध रहेको जनाएको छ ।

सङ्घले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रभावकारी कार्यान्वयन गर्न मागसमेत गरेको छ । गत वैशाख २३ गते सो ऐन जारी भएको थियो । ‘उत्कृष्ट जीवनका लागि उत्तम पोषण’ भन्ने नारालाई सङ्घले सार्थक बनाउने ध्येय राखेको सङ्घका महासचिव  सुशान्त मुरारकाले बताउनुभयो । उहाँले भन्नुभयो, “आम उपभोक्ताहरुले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ ।”