काठमाडौँ, असोज ९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने बताउनुभएको छ ।

जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको पृष्ठपोषण गर्न यस पर्वले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जितिया पर्व तराई–मधेसका आमाहरुले निर्जल÷निराहार २४ घण्टासम्म उपवास बसी सन्तानको सुख, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि परापूर्वकालदेखि मनाउँदै आएका छन् ।

“हामीले मनाउने पर्वहरु यस्तो उत्सव हुन्, जसले वर्षौंदेखि प्रचलनमा रहेका हाम्रा मूल्यमान्यतालाई वर्तमानसम्म दृढताका साथ एउटा कडीका रुपमा जोडेर राख्न सहयोग गरेको छ । पर्व–त्योहारहरुले हाम्रो अन्तःचेतनालाई जगाउँदै हाम्रो आत्मविश्वास पनि बढाउँदछ । यसले हाम्रो आध्यात्मिक मूल्यलाई बल प्रदान गर्दै हाम्रा पारिवारिक सम्बन्धको रागात्मकतालाई थप सुदृद्ध र बलियो बनाउनुका साथै सामाजिक संरचनालाई थप प्रगाढ बनाउनमा सघाउँदछ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

जितिया कठिन व्रतको संयम त हुँदै हो, यो केही प्रचलित र लोकमान्यताहरुलाई जीवन्त बनाउने माध्यम पनि हो । यसो त जितिया पर्वलाई सन्तानको दीर्घायु र सुस्वास्थ्यका लागि गरिने पर्व भनिए पनि यो तीन दिनसम्म गरिने फरकफरक लोक–अनुष्ठान र लोकमान्यताको मौलिक परम्परा र प्रथा हो । यसमा प्रकृति, धर्म र संस्कृतिको अनौठो समायोजन भएको पाइन्छ ।

उपराष्ट्रपति यादवले सांस्कृतिक र धार्मिक महत्व बोकेको जितिया पर्व तराई–मधेसका भूइँमान्छे, मूल आदिवासी, रैथाने जातजातिकाहरुले आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा रहेको उल्लेख गर्नुभएको छ ।

यो पर्वलाई जिवित्पुत्रिका व्रतको नामले पनि चिनिन्छ । वनस्पतिबाट प्राप्त हुने केराको पात, घिराँैलाको पात, तोरीको पिना, चिनी÷सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजाआजामा प्रयोग गरिन्छ ।