काठमाडौँ, असोज ७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले साहित्यमार्फत समाजलाई विशिष्ट रुपमा देखाउन सकिने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले समाजको वास्तविकतालाई देखाउने भएकैले साहित्यकार अभौतिक सम्पदाका रुपमा स्थापित भएको बताउनुभयो ।

“साहित्यले अप्ठ्याराकाबीच आशाका सञ्चार गर्छ, समाजमा पुनःजागरण र जागृतिको आवश्यकता रहेकाले यसमा साहित्यकारले योगदान गर्न सक्छन्, बिपी कोइरालाले आत्मवृत्तान्तमा धेरै व्यावहारिक मान्छे भावुक जति पवित्र हुँदैन भन्नुभएको छ, साहित्यकारले भावुकतासँगै पवित्रताको प्रतिनिधित्व गर्छन्”, मन्त्री पाण्डेले भन्नुभयो ।

प्रतिष्ठानको कविता महोत्सवले समावेशी नेपालको प्रतिनिधित्व गर्ने गरेकाले यसलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो । भाषा, संस्कृति, वेशभूषाका दृष्टिले नेपाल विविधतापूर्ण रहेकाले ती सबैको प्रतिनिधित्व गर्दै प्रतिष्ठानले काम गर्नुपर्ने संरक्षकसमेत रहनुभएका मन्त्री पाण्डेको भनाइ थियो । साहित्यकार निष्ठा र सदाचारको बाटोमा लागेर समाजलाई पनि त्यतै अघि बढाउनुपर्ने उहाँको विचार थियो ।

प्रतिष्ठानका कुलपति भूपाल राईले लोकतान्त्रिक शासन व्यवस्थामा समावेशी र सहभागिताको आवश्यकता पर्ने भएकाले त्यसै आधारमा काम गर्ने गरिएको बताउनुभयो । भाषा, साहित्य र संस्कृतिको संरक्षणमा प्रतिष्ठानले काम गरिरहेको उहाँले सो अवसरमा जानकारी गराउनुभयो ।

कार्यक्रममा कविता महोत्सव, २०८१ उत्कृष्ट स्थान हासिल गर्ने अग्र आवाज, अनिता न्यौपाने, अन्जान प्रदीप, छविलाल कोपिला, दिलीप बुढामगर, रुमानी कुलुङ, रुपक ‘जमरा’ घलान, रेजिना खालिङ, शर्मिला दुलाल, सुमन सहयात्री योङहाङलाई पुरस्कार प्रदान गरिएको थियो । कविता महोत्सवमा उत्कृष्ट हुनेलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी र प्राज्ञ परिषद् सदस्य एवं कविता महोत्सव, २०८१ का संयोजक बाबा बस्नेतले भाषा, साहित्य एवं संस्कृति क्षेत्रको उन्नयनमा प्रतिष्ठानले गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।