फाइल तस्वीर
काठमाडौँ, असोज ६ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण गर्ने जनाएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा असोज ८ गते मङ्गलबारदेखि रणनीतिक रूपमा आन्दोलन केन्द्रित प्रशिक्षण सञ्चालन गर्ने जनाएको हो ।

पार्टीका महामन्त्री एवम् आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्सेर राणाको नेतृत्वमा राप्रपाले रणनीतिक रूपमा आन्दोलनको तयारी गरेको छ । राप्रपाले आगामी आन्दोलनलाई काठमाडौँ केन्द्रीत गर्न देशभरका सबै वडाहरुबाट गरी २० हजार युवा दस्ता तयार गर्ने बताएको छ । युवा दस्ता तयार गनेए क्रममा राप्रपाले राजनीतिक, परिचालन र व्यवस्थापनका विषयमा विशेष प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।
राप्रपाले दैनिक रुपमा ठूलो सङ्ख्यामा युवाहरु विदेश पलायन हुने गरेको र यस्तो कहाली लाग्दो अवस्थाको समाधान गर्न नवीनतम समझदारीको प्रस्तावसमेत सारेको बताएको छ । राप्रपाले आगामी दिनमा आन्दोलन गर्ने पार्टीको पूर्ववत निर्णयलाई कार्यान्वयन गर्दै राजधानी केन्द्रीत आन्दोलनको तयारी गरेको जनाएको छ ।

प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले देशका ७७ जिल्लामा गएर युवाहरूका लागि प्रशिक्षण सञ्चालन गर्ने बताइएको छ । राप्रपाले केन्द्रदेखि जिल्लास्तरीय प्रशिक्षण समेत सञ्चानल गर्ने र जिल्लास्तरको प्रशिक्षण कार्यक्रम दशै र तीहारको बीचमा सम्पन्न गरिसक्ने बताएको छ ।

राप्रपाले आन्दोलनलाई निरन्तर राख्दै देशभरिका प्रत्येक वडाहरुबाट कम्तीमा तीन जना जुझारु युवा तयार गर्ने रणनीति बनाएको जनाएको छ । उसले सरकार समक्ष्म राजसंस्था, सनातन हिन्दु अधिराज्य, प्रदेश खारेजी, भ्रष्टाचारको अन्त्य लगायत विभिन्न ४० बुँदे माग पेश गर्दै सडक आन्दोलनलाई तिव्रता दिने भएको छ ।