काठमाडौँ, असोज ४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास सङ्गठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ । बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागी रहनुभएको छ ।

बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश परामर्श बैठकको अन्तिम चरणमा आएकाले अब केन्द्रीय समितिको बैठकको तयारी लाग्ने बताउनुभयो । सबै प्रदेशको परामर्श बैठक सकिदा पार्टी र जनतामा नयाँ उत्साह पैदा भएको उल्लेख गर्दै उहाँले पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको बताउनुभयो ।  

आफूहरुले सरकार छाडेको छोटो समयमै जनताको बीचमा यथार्थ बुझाउन सफल भएको उल्लेख गर्दै अब उहाँले अब जनसम्बन्धलाई केन्द्रमा राखेर पार्टी पुनःगठनको अभियान चलाइने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ । केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष, सम्पर्क समन्वय, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, सल्लाहकार समिति, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रवास प्रदेशअन्तर्गत एसिया सङ्गठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ । 

परामर्श बैठकपछि प्रतिवेदन तयार गरेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ ।