काठमाडौँ, असोज ४ गते । सङ्घीय संसदमा प्रतिनिधिसभा अन्तर्गतका विभिन्न चार संसदीय समितिको बैठक आज बस्दै छ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठक बस्ने भएको हो ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज शुक्रबार बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । सो बैठकमा कार्यपरामर्श उपसमिति पुनर्गठनका विषयमा छलफल हुनेछ ।

त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।