नारायणगढ, असोज २ गते । राष्ट्रिय शिक्षा दिवस–२०८१ को अवसरमा भरतपुर महानगरपालिकाले महानगरभित्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान एवं पुरस्कार वितरण गरेको छ । आज भरतपुरको नारायणी नमुना माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच महानगर उपप्रमुख चित्रसेन अधिकारीले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।

विसं २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याउने संस्थागत र सामुदायिक विद्यालयका १६ छात्र छात्रा र कक्षा ८ को परीक्षामा ४ जिपिए ल्याउने छ छात्रछात्रालाई शिक्षा दिवसको अवसरमा सम्मान गरिएको हो । महानगरले परीक्षामा उत्कृष्ट नतिजा ल्याउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विद्यालय र शिक्षक शिक्षिकालाई सम्मान गरेको हो । संस्थागत र सामुदायिक विद्यालयका ४० उत्कृष्ट शिक्षकलाई सिकाइ उपलब्धिको आधारमा सम्मान गरिएको महानगरले जनाएको छ । सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट विद्यालयका रुपमा सामुदायिकका तर्फबाट नारायणी नमूना माध्यमिक विद्यालय र संस्थागत विद्यालयका तर्फबाट लिटिल फ्लावर स्कुललाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा आधारभूत तहस्तरीय निबन्ध प्रतियोगिता र माध्यमिक तह स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । नगर उपप्रमुख चित्रसेन अधिकारीले शिक्षण सिकाईका लागि हरेक कुरा सिक्न उत्साहित गर्ने शिक्षक आजको आवश्यकता रहेको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भुमीलाल सुवेदीले विकासको पुर्वाधार निर्माणको लागि शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो ।