फाइल तस्वीर
काठमाडौँ, असोज २ गते । निर्वाचन आयोगले आगामी मङसिर दोस्रो साता उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगले स्थानीय तहमा रिक्त भएका पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन गर्ने भएको हो ।
आयोगका अनुसार देशका विभिन्न स्थानीयमा ४० पदहरु रिक्त रहेका छन् । दुर्घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन हुँदा भएकाले ति पदहरु रिक्त हुन आएका हुन् । स्थानीय तहमा रिक्त भएको पदहरुमध्ये जिल्ला समन्वय समिति दुई जना प्रमुख, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक जना, नगरपालिकाकै २१ वडाध्यक्ष, गाऊँपालिकाका दुई अध्यक्ष, चार उपाध्यक्ष सहित नौ वडाध्यक्षको पद रिक्त भएका छन् ।
आगामी मङ्सिरमा रिक्त रहेका सबै पदहरुमा निर्वाचन गर्ने आयोगको तयारी छ । आयोगले जनाएअनुसार निर्वाचन हुनुभन्दा एक महिना अघिसम्म स्थानीय तहमा कुनै पद रिक्त हुन आएमा ति पदमा पनि सोही मितिमा निर्वाचन गर्ने तयारी छ ।
२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । स्थानीय तहमा एक वर्षको पदावधि छँदै कुनै पद रिक्त रहेमा उपनिर्वाचन गराउनुपर्ने कानुनी व्यवस्था छ ।