काठमाडौँ, असोज २ गते । राष्ट्रिय शिक्षा दिवस आज विविध कार्यक्रम गरी मनाईंदैछ । ’ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिका : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ दिवसका सन्दर्भमा सङ्घीय राजधानी काठमाडौंसहित देशभरि विभिन्न कार्यक्रमहरू हुँदैछन् । सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानेर गतवर्षदेखि असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउन थालेको हो ।
सङ्घीय सरकारले यसवर्ष पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिमार्फत् दिवस विशेष कार्यक्रमहरू गर्दैछ । समितिले देशभर विविध रचनात्मक कार्यक्रम गरी दिवस मनाउन निर्देशन समेत गरेको छ ।
दिवसको अवसरमा शिक्षा मन्त्रालयले आज यसवर्षको नेपाल विद्याभूषण ’क’, ’ख’ र ’ग’, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक ’क’ र ’ख’ एवम् छात्रा पुरस्कार घोषणा गर्दैछ ।
यी पुरस्कारका लागि आवेदन माग गरिएको र उनीहरूमध्येबाट पुरस्कृत हुनेहरूको नाम समेत छनोट भइसकेको मन्त्रालयले जनाएको छ । उनीहरूको नाम आज मन्त्रालयले वेभसाइटमा सार्वजनिक गर्दै पुरस्कार घोषणा गर्ने जनाएको छ । उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र भने अर्को मितिमा वितरण गरिनेछ ।
वि.सं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस) सेप्टेम्बर ८ कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलग रूपमा मनाउने निर्णय भएको थियो ।