काठमाडौ, असोज २ गते । ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन्, संविधानमाथि हमला हुन्छ’– यो भनाई हो प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको । काठमाडौँको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाबाट केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच हिजोदेखि सुरु भएको जुम बैठकलाई सम्बोधन गर्दै माकेका अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

हिजोदेखि सुरुभएको प्रवास प्रदेश समितिको परामर्श बैठक दुई दिनसम्म चल्ने छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको पार्टी कार्यालयले जनाएको छ ।

बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्नुहुँदै पार्टी रुपान्तरण सम्भव भएको दावीसमेत गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष प्रचण्डले ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिने र संविधानमाथि हमला हुने तर्क गर्दै ‘परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन, अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्नु पर्छ’– भन्नुभयो ।

बैठकमा सहभागीहरुका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ ।

माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।

अब केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने पार्टी सचिवालयले जनाएको छ । केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ ।