फाइल तस्वीर ।
काठमाडौँ, असोज १ गते । सरकारका मुख्य दुई ठूला साझेदार दलले न्यूनतम साझा कार्यक्रम तयार गरेका छन् । एमाले र काङ्ग्रेसका दुई/दुई जना सम्मिलित चार सदस्यीय कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हुन् ।

तयार गरेको मस्यौदालाई अन्तिम रुपदिन कार्यदल जुटेको छ । कार्यदलले भोलि बुधबार साँझसम्ममा सरकारका न्यूनतम साझा कार्यक्रम तयार गर्ने र दुई शीर्ष नेताहरुसँग बसेर अन्तिम रुप दिने बताइएको छ ।

नेपाली काङ्ग्रेसबाट कार्यदलमा रहनुभएको नेता डा. प्रकाशशरण महतले कार्यदलले काम गरिरहेको बताउँदै भोलि बुधबार साँझसम्म मस्यौदालाई अन्तिम रूप दिने गरी काम भएको जानकारी गराउनुभयो ।

कार्यदलका सदस्य महतले ‘हामीले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरिरहेका छौ, सकेसम्म बुधबार साँझसम्म टुङ्ग्याउने तयारी छ’ — भन्नुभयो । कार्यदलले बजेट र सरकारको नीति तथा कार्यक्रमसँग मेल खानेगरी सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरिएको नेता महतले बताउनुभयो ।

चार सदस्यीय कार्यदलमा नेपाली काङ्ग्रेसबाट महामन्त्री गगन थापा र नेता प्रकाशशरण महत र नेकपा एमालेबाट उपमहासचिव प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहनुभएका विष्णु रिमाल सदस्य रहनुभएको छ ।

कार्यदलले तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रम बिहीबारसम्म सार्वजनिक हुने बताइएको छ । एमालेका अध्यक्ष समेत रहनेभएका प्रधानमन्त्री केपी शर्मा ओली ४ गते शुक्रबार अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भागलिन जानुहुने भएकाले प्रधानमन्त्री अमेरिका प्रस्थान गर्नु अघि नै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने भएको छ ।