फाइल तस्वीर
काठमाडौँ, भदौ ३१ गते ।
सहकारीमा बचत रकम हिनामिना र अपचलन भएको विषयमा अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको संसदीय छानविन विशेष समितिले संसद्लाई प्रतिवेदन बुझाएको छ । तीन महिनाभन्दा बढी समय दिएर अध्ययन अनुसन्धान गरेको उक्त समितिले पोखरास्थित सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियाले अपचलन गरेको निष्कर्ष निकाल्दै उक्त प्रतिवेदन आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बुझाइएको हो ।

समितिले बुझाएको उक्त प्रतिवेदनलाई आवश्यक कार्यान्वयन गर्न सभामुख देवराज घिमिरेले सरकारलाई पठाउन संसद सचिवालयलाई निर्देशन दिनुभएको छ ।

संसदीय छानविन विशेष समितिले आज बुझाएको प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गोर्खा मिडियाका तात्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेलाई समेत कारवाही गर्न सिफारिस गरेको छ ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत् भएको अपचलनमा पूर्वउपप्रधानमन्त्री एवम् रास्वपाका सभापति लामिछानको संलग्नता रहेको समितिले निश्कर्ष निकालेको छ ।

सहकारी ऐनको दफा १२२ (त) अनुसार कारवाही गर्न सिफारिस गर्ने प्रस्ताव गरिएको छ । उक्त ऐनको दफामा सहकारीलाई हानी नोक्सानी पु¥याउने उद्देश्यले रकम लेनदेन गरे कसुर मानिने उल्लेख छ । जसअनुसार दोषी ठहर हुँदा विगोअनुसार एक वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

सहकारीको रकम ठगी र अपचलनका विषयमा नेपाली काङ्ग्रेसले गत फागुन तेस्रो साता सदनमा विषय प्रवेश गराएको थियो । ठगी प्रकरणमा काङ्ग्रेसले त्यसबेला गृहमन्त्री रवि लामिछानेको संलग्नता भएको गृहमन्त्रीबाट राजीनामान दिन र छानविन गर्न सरकारसँग माग गरेको थियो ।

सहकारीको रकम गोर्खा मिडिया जीवी राईमार्फत लगानी भएको र उक्त संस्थाका तात्कालीन प्रवन्ध निर्देशक रवि लामिछानेसमेत संलग्न रहेको जिकिर गर्दै काङ्ग्रेसले छानविन गर्न सदनमा जोडदार रुपमा कुरा उठाउँदै सदनसमेत अवरुद्ध गरेको थियो । तर उनी गृहमन्त्री भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको लगातार संसद अवरुद्ध पछि सरकारले गत जेठ १५ गते सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धमा अध्ययन गर्न सहमति जनाएपछि संसदले एमालेका सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा संसदीय छानविन विशेष समिति बनाएको थियो । सोही समितिले आज संसदमा छानविन प्रतिवेदन बुझाएको छ ।