छानविन समितिका सभापति सूर्य थापाद्वारा संसदका महासचिवलाई प्रतिवेदन हस्तान्तरण गर्दैको तस्वीर

काठमाडौँ, भदौ ३१ गते । संसदीय छानविन विशेष समितिले सहकारी छानविनसम्बन्धी प्रतिवेदन संसदलाई बुझाएको छ । समितिको प्रतिवेदन समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभाको आज सोमबारको बैठकमा सभामुख देवराज घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रतिनिधिसभालाई बुझाइएको उक्त प्रतिवेदन सरकारलाई पठाउन सभामुख घिमिरेले संसद सचिवालयलाई निर्देशन दिनुभएको छ । त्यसअघि छानविन समितिका सभापति थापाले सहकारी छानविनका क्रममा भएका विषयहरुलाई सारांशमा सदनलाई जानकारी गराउनुभएको थियो । समितिको पछिल्लो बैठकमा प्रधानमन्त्री आफै उपस्थित भएर सहकारी समस्या समाधानमा प्रतिबद्धता जनाउनुभएको सदनलाई जानकारी गराउनुहुँदा सभापति थापाले समितिको ५६ वटा बैठक बसेको, चार सय ५१ जनासँग छलफल गरेको, ४७ जना सहकारी सञ्चालकसहित अन्य आठ जनासहित ५५ जनासँग सोधपुछ गरेको सदनलाई जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले नेकपा (एमाले) सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको थियो । समितिमा एमालेबाट सरिता भुसाल, नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिको समय आगामी असोज ६ गते सकिंदैछ ।