फाइल तस्वीर
काठमाडौँ, भदौ ३१ गते ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गर्नुभएको छ । आज सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनु भएको हो

सांसद देवेन्द्र पौडेलले केही दिन पहिले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्षलगायत तीन जनाको निधन भएको जानकारी दिनुहुँदै त्यस्ता दुर्घटना कम गर्न लागि सरकारको ध्यानकर्षण गराउनुभयो । उहाँले सडक दुर्घटनालगायतका अन्य विपदमा परेका नागरिकलाई तत्काल उद्धार र राहतको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद माधव सापकोटाले केही दिन पहिले सिन्धुपाल्चोकमा बलेरो गाडी दुर्घटनामा परी बेपत्ता हुनुभएका सोनु शेर्पाको खोजीलाई तीव्र पार्न आग्रह गर्नुभयो ।

सांसद सुशीला थिङले सिन्धुलीको पहिचानको रुपमा स्थापित जुनार खेतीमा कीराको प्रकोप बढेका कारण किसान प्रभावित भएकाले तत्काल नियन्त्रण गर्न र प्राविधिक खटाउन आग्रह गर्नुभयो । किसान चिन्तित र आतङ्कित भएको जानकारी दिँदै उहाँले एक प्रकारको पुतली नियन्त्रण गर्न, पीडित किसानलाई राहत दिन माग गर्नुभयो ।

सांसद सूर्यप्रसाद ढकालले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विपरीत गएर जनप्रतिनिधिले आफ्ना धारणा राख्न नहुने उल्लेख गर्नुभयो । उहाँले एक सांसदले एक टेलिभिजन कार्यक्रममा कालापानी र लिम्पियाधुराको सन्दर्भमा दिनुभएको धारणाप्रति आपत्ति प्रकट गर्नुभयो ।

अशोककुमार चौधरीले सुनसरीको एक उद्योगले बिना प्रशोधन फोहर पानी स्थानीय बूढीखोलामा फालिँदा जनजीवन प्रभावित भएकाले तत्काल नियन्त्रण गर्न माग गर्नुभयो । उहाँले बेरोजगार युवालाई गलत प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पु¥याएर ठगी गरेको भन्दै सम्बन्धित म्यानपावर कम्पनीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । 

सांसद ज्ञानबहादुर शाहीले जुम्लाको स्याउ बिक्री वितरण हुन नसकेको उल्लेख गर्दै विदेशी स्याउ बिना अवरोध व्यापार व्यवसाय भइरहेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाली नागरिकको स्वास्थ्य प्रभावित भइरहेको भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । सांसद डा धवलशमशेर जबराले शिख समुदायको धर्मअनुसार कपाल तथा दाह्री राख्ने प्रबन्ध अनुसार सुरक्षा निकायमा भर्तीका लागि आवश्यक व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सांसद तारा लामा तामाङले अविरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न जिल्लामा जनधनको क्षति भएका जानकारी दिँदै प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति र राहतको प्रबन्ध गर्न माग गर्नुभयो । बाढीपहिरोले कञ्चनपुरको हुलाकी सडक प्रभावित बनाएको, हजारौँ बिघामा लगाइएको धानखेती बगरमा परिणत भएको भन्दै राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद लालवीर चौधरीले कर्णाली नदीका कारण बर्दियाका विभिन्न स्थानमा कटान गरिरहेको जानकारी दिँदै जनधनको सुरक्षाका लागि आवश्यक बजेटको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद राजेन्द्र बजगाइँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतका कारण उडान अवतरणमा रोक लगाइएका कारण स्वदेश फर्कन खोज्ने नागरिकले महङ्गो भाडा तिर्नुपरेकामा गुनासो गर्नुभयो ।

सांसद हर्कमाया विश्वकर्माले झापाको बिर्तामोडमा शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गर्न माग गर्नुभयो । उहाँले झापामा जातीय विभेद्को घटनामा वृद्धि भएको भन्दै दोषी उपर कारबाहीको माग गर्नुभयो । 

सांसद रञ्जुुकुमारी झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, स्थानीय तहमा सबैभन्दा बढी भ्रष्टाचार भएको पाइएको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सांसद प्रकाश अधिकारीले तराई–मधेशमा शान्ति सुरक्षाको अवस्था गम्भीर रहेको जानकारी दिँदै यही भदौ २८ गते सिरहाको गोलबजारमा एक पत्रकारको घरमा आक्रमण भएको र स्थानीय प्रशासनले ध्यान नदिएको गुनासो गर्नुभयो ।

सांसद गङ्गाराम चौधरीले पछिल्ला दिनमा भएको अविरल वर्षाका कारण कैलाली र कञ्चनपुर जिल्लामा जनधन प्रभावित भएकाले पीडितलाई उचित राहतको प्रबन्ध गर्न माग गर्नुभयो ।

सांसद कृष्णकुमार श्रेष्ठले बाराको गढीमाइमा आगामी मङ्सिरमा लाग्ने मेलाको उचित व्यवस्थापन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सो मेला सञ्चालनमा आउने समय आएपछि अनावश्यक प्रचार भएकामा आपत्ति जनाउनुभयो ।

सांसद वासुदेव घिमिरेले फोहरमैलाको उचित प्रबन्ध गरी स्वच्छ र मर्यादत व्यवस्थापन गर्न माग गर्नुभयो । फोहर व्यवस्थापनका लागि आवश्यक जग्गाको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । सांसद डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा जनताको अपेक्षा विपरीतको गतिविधि भएको र नेपाली जनतालाई विश्वस्त बनाउन नसकिएको बताउनुभयो । सहकारी प्रकरणमा सत्तापक्षका सांसद नै जोडिएको उहाँले आरोप लगाउनुभयो ।

सांसद प्रेम सुवालले राजनीति देश र जनताको सेवा गर्ने महत्वपूर्ण काम रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घको महासभामा प्रधानमन्त्रीले राख्नुपर्ने केही विषयवस्तुमाथि सुझाव दिनुभयो ।
सांसद रामहरि खतिवडाले बाढीपहिरोका कारण देशभरका सडक समस्यामा परेको, पहिरो आएको तथा खाल्डाखुल्डी परेको उल्लेख गर्दै तत्काल मर्मत सम्भार गर्न माग गर्नुभयो ।