प्रतिनिधिसभाको बैठकमा सांसद शक्तिबहादुर बस्नेत ।
काठमाडौँ, भदौ ३१ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीले सञ्चालन गरेको ‘जनयुद्ध’ लाई अपमान गरिएको र यो विगतमा भएका सहमति सम्झौता तथा संविधानको मूल मर्मविपरीत रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै धारणा राख्दै उहाँले विगतको सहमति तथा सम्झौता विपरीत सांसदहरुले शब्द प्रयोग गरेको बताउनुभयो । ‘जनयुद्ध’ले उठाएको एजेण्डाका आधारमा मुलुक आजको दिनमा आइपुगेको स्पष्ट पार्दै उहाँले गलत भाष्य स्थापित नगर्न ध्यानकर्षण गराउनुभयो ।

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहनुभएका बस्नेतले अरुण तेस्रो जलविद्युत् आयोजनालाई समयमा बन्न दिइएको भए लोडसेडिङ २०६५ सालमै अन्त्य हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “सो आयोजना कस्ले किन बन्न दिएन ? कस्को कारण रोकियो ?”

माओवादी केन्द्रका सांसद बस्नेतले सत्तारुढ दलका तर्फबाट सदनमा व्यक्त भएको धारणाप्रति स्पष्ट पार्नसमेत अनुरोध गर्नुभयो । माओवादी केन्द्रका उपमहाससचिव समेत रहनुभएका नेता बस्नेतले इतिहासमा सीमित भएको संविधानसभालाई जनयुद्धले नै स्थापित गरेको बताउनुभयो । क्रान्तिलाई हिंसाका रुपमा मात्रै लिने हो भने २००७ सालको सङ्घर्षलाई के भन्ने ? २०२८ सालको झापा विद्रोहलाई के भन्ने ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।

पूर्वमन्त्री बस्नेतले सांसदहरुबाट व्यक्त भएको धारणाप्रति आफ्नो दलको तर्फबाट आपत्ति, विरोध कायम नै रहेको सांसद बस्नेतको भनाइ छ । उहाँले केही महत्वपूर्ण विधेयक अगाडि बढाउनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्न लाग्नुभएको सन्दर्भलाई जोड्दै सदनलाई सञ्चालन गर्न दिने निर्णय गरिएको स्पष्ट पार्नुभएको थियो ।