काठमाडौँ, ३१ भदौ ः राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसाकुमारी दाहाल निर्वाचित हुनुभएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज भएको निर्वाचनमा नेकपा (एमाले)का सांसद दाहाल नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्ती राईलाईपछि पार्दै निर्वाचित हुनुभएको हो ।

दाहालले आठ मत पाउनुभयो भने राईले सात मत पाउनुभयो । दाहाललाई नेपाली कांग्रेसका चार, एमालेका तीन र जनता समाजवादी पार्टी नेपालका एक सांसदले मत दिनुभयो । यस्तै राईलाई नेकपा (माओवादी केन्द्र)का पाँच, एकीकृत समाजवादीका दुई सांसदले मत दिनुभएको थियो ।

पन्ध्र सदस्यीय समितिमा पहिलो चरणमा दुवै उम्मेदवारले सात÷सात मत पाउनुभएको थियो । ध्वनीमतका आधारमा मत बराबर भएपछि समितिका ज्येष्ठ सदस्य एवं सभापति कृष्णप्रसाद सिटौलाले निर्णायक मत दिनुभएको थियो । सिटौलाको एक मत प्राप्त गरेपछि दाहाल सभापतिमा निर्वाचित हुनुभयो ।

 दाहालको प्रस्तावमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा एमालेका भगवती न्यौपाने तथा राईको प्रस्तावकमा एकीकृत समाजवादीका डा बेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेश आले मगरले हुनुहुन्थ्यो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्विरोध निर्वाचित भइसक्नुभएको छ । निर्वाचित सभापतिद्वयलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम छ ।