फाइल तस्वीरः
काठमाडौँ, भदौ ३१ गते ।
पूर्व कानूनमन्त्रीसमेत रहनुभएका नेपाली काङ्ग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङमाथि छानविन हुनेभएको छ । सहकारीको रकम अपचलन भएको सम्बन्धमा सांसद गुरुङको संलग्नता कागजातहरूबाट पुष्टि भएकोले उहाँमाथि छानविन हुनेभएको हो ।


काङ्ग्रेस उपसभापति गुरुङ पनि सहकारी ठगी प्रकरणमा संलग्न भएको संसदीय छानविन विशेष समितिले जनाएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र पारपाचुकी गरिएको भनिएकी उहाँकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको हो । मितेरी सहकारी संस्थाको महाप्रवन्धक भएर काम गर्नुभएकी ज्योति गुरुङबाट उक्त सहकारीको रकम अपचलन भएको सो सहकारीका अध्यक्षले खुलासा गर्नुभएको थियो ।

समितिले छानविन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानविन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनीमाथि पनि अनुसन्धान गर्न समितिले राज्यका निकायलाई लेखी पठाउने भनेर समितिमा सहमति भएको एक सदस्यले जानकारी दिए । सोही आधारमा सांसद गुरुङ शङ्काको घेरामा तानिनुभएको हो ।

समितिमा उजुरी परेपछि अध्ययन अनुसन्धान गर्दा प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले सिफारिस गर्ने सहमति भएको बताइएको छ ।

यता पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारीको रकम अपचलनमा संलग्न रहेको छानविन समितिले ठहर गरेको छ ।