फाइल तस्वीर
काठमाडौँ, भदौ ३१ गते ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएर मूल्य समायोजन गरेको हो ।

निगम सञ्चालक समितिको हिजो आइतबार साँझ बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको थियो । सञ्चालक समितिको बैठक अनुसार आइतबार मध्यरातदेखि नै पेट्रोलियम पदार्थको नयाँ मूल्य लागूभएको छ ।

निगमले वर्गीकरण गरेअनुसार अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ रुपैयाँ पर्ने छ ।

यसैगरी सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १४८ रुपैयाँ पर्नेछ भने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँमा उपभोक्ताले खरिद गर्न पाउनेछन् ।