काठमाडौँ, भदौ ३० गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस जिल्ला कार्यसमिति ललितपुरका पूर्वकोषाध्यक्ष केदारबहादुर अमात्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आमात्यको ८६ वर्षको उमेरमा उपचारका क्रममा यही भदौ २८ गते निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । साथै उहाँले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा अमात्यले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

नेता आमात्यले नेपाली काङ्ग्रेस ललितपुर जिल्ला कार्यालयको भवन निर्माण समितिको संयोजक रहेर जिल्ला पार्टी कार्यालय निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । काङ्ग्रेसको सङ्गठन निर्माण र नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका लागि भएका सङ्घर्ष र आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । काङ्ग्रेसले अमात्यको निधनबाट एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।