फाइल तस्वीर
काठमाडौँ, भदौ ३० गते । सांसद सूर्यबहादुर थापा नेतृत्वमा गठित संसदीय छानविन विशेष समितिले भोलि सोमबार आफ्नो प्रतिवेदन बुझाउने भएको छ । सर्वसाधारण नागरिकहरुले सहकारीमा बचत गरेको रकम हिनामिना र अपचलन गरिएको सम्बन्धमा अध्ययन अनुसन्धान गर्न गठितसंसदीय छानविन विशेष समितिले तयार गरेको प्रतिवेदन भोलि बुझाउने तयारी गरेको हो ।

गत जेठमा संसद‍्बाट गठन भएको उक्त समितिले आज सहकारी ठगी प्रकरणको प्रतिवेदनलाई अन्तिम रुप दिंदैछ । उक्त प्रतिवेदन भोलि बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी गरिएको छ ।

उक्त समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन गरी सम्भव भएसम्मका व्यक्तिहरुसँग समेत बयान लिएर सोही आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिंदैछ । समितिले प्रधामन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुखहरुसँग समेत परामर्श गरेको थियो ।

विशेषगरी संसदीय छानविन विशेष समिति सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान तथा गृहमनत्री रवि लामिछानेको नाम जोडिएपछि संसद्मा सहकारीको रकम ठगी र अपचलन भएको विषयले संसद् अवरुद्ध समेत भएको थियो । सोही विषयमा अध्ययन अनुसन्धान गर्न प्रतिनिधिसभाको बैठकले एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा संसदीय छानविन विशेष समिति गठन भएको थियो ।