फाइल तस्वीर
काठमाडौँ, भदौ ३० गते ।
सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज आइतबारका दिउँसो १ बजेका लागि राखिएको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरुद्ध गर्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गर्नुभएको हो ।

जारी संसदमा सत्तापक्ष एमाले र माओवादी केन्द्र दुई कम्युनिस्ट पार्टीका सांसदहरुबीच चलेको जुहारीले अन्ततः सदनको बैठक सुचारु हुन सकेन । सहमति जुटाएर सदनलाई सुचारु गराउन सभामुख देवराज घिमिरे राष्ट्रिय दलका प्रमुख सचेतकहरुसँगको छलफलमा सहमति जुटन् नसकेपछि माओवादी केन्द्रको आन्तरिक बैठकले सदन अवरुद्ध गर्ने निर्णय गरेपछि सभामुखले आजको बैठक स्थगित गर्नुभएको हो ।

प्रतिनिधिसभाको बैठक भोलि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ । यद्यपि, माओवादी केन्द्रको माग सम्बोधन नहुँदासम्म प्रतिनिधिसभाको बैठक अवरुद्ध हुने सो पार्टीले जनाएको छ ।

जनयुद्धलाई सभामुख देवराज घिमिरेले ‘हिंसा’ भनेर स्थापित गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै आएको छ । बिहीबारको बैठकमा सभामुख घिमिरेले रुलिङ गर्दै हिंसा असंसदीय शब्द नभएको र रेकर्डबाट हटाउन नपर्नेभन्दै सदनलाई जानकारी गराए पछि माओवादीका सांसदहरुले बैठकमै सभामुखको रवैयाप्रति विरोध जनाएका थिए ।

भदौ १२ गते बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सचिव एवम् सांसद योगेश भट्टराईले माओवादीप्रति लक्षित गर्दै जनयुद्धलाई ‘हिंसा’ भनेपछि सदनमा विवाद उत्पन्न भएको थियो । सोही विषयलाई लिएर सत्तापक्ष र विपक्षी दुई कम्युनिस्ट घटकबीच सदनमा चर्को विवाद उत्पन्न हुँदै आएको छ । माओवादीले संसदको रेकर्डबाट सांसद योगेश भट्टराईले बोल्नुभएको ‘हिंसा’ शब्द हटाउन माग गर्दै आएको छ ।