फाइल तस्वीर ।
काठमाडौँ, भदौ ३० गते । प्रतिनिधिसभाको आज आइतबार बस्ने भनिएको बैठक सञ्चालन हुन सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसँग आज सभामुख देवराज घिमिरे बैठक सञ्चालन गर्न गर्नुभएको छलफल सफल नभए पछि आजको प्रतिनिधिसभा बैठक बस्ने नबस्नेमा अन्योलता बढेको हो ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदको रेकर्डबाट ‘हिंसा’ भन्ने शब्द नहटाएसम्म संसद्मा अवरोध गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो ।

एमालेका सांसद योगेस भट्टराईले माओवादी जनयुद्धलाई सदनमा ‘हिंसा’ हो भनेपछि प्रमुख प्रतिपक्षी दल माओवादीले त्यसको विरोध गर्दै संसदमा अवरोध गर्दै आएको छ । सांसद् भट्टराईले माओवादीलाई लक्षित गरी सदनमा व्यक्त गर्नुभएको ‘हिंसा’ शब्दलाई संसद्को रेकर्डबाट नहटाउने सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीले अडान राखेको छ ।