फाइल तस्वीर
काठमाडौँ, भदौ ३० गते ।
न्यायिक पारदर्शिता र जनतामा न्यायको पहुँचको उद्देश्य सर्वोच्च अदालतमा हुने बहस पैरवीलाई प्रत्यक्ष प्रसारण गर्न माग गर्दै रिट दायर भएको छ । कानुनका विद्यार्थीहरुद्वय विवेक चौधरी र अनिलकुमार साह सोसम्बन्धी रिट आज आइतबार सर्वोच्चमा दर्ता गराएका हुन् ।

सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटमाथिको पेशी भोलि सोमबारका लागि तोकिएको छ । दायर भएको रिटमा अदालतको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नु न्यायिक प्रणालीको आमूल परिवर्तनको लागि अपरिहार्य रहेको उल्लेख गरिएको छ । विद्यार्थीैद्वय चौधरी र साहले अमेरिका, अष्ट्रेलिया, भारतलगायत विभिन्न देशहरुको उदाहरण दिंदै सर्वोच्चको कारवाहीलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग दावी गरेका छन् ।

निवेदकहरूले नेपालको संविधानले प्रत्याभूत गरेको सूचनाको हक र सम्मानपूर्वक बाँच्न पाउने हकलाई उद्धृत गर्दै नेपाली नागरिकहरूलाई पनि अदालतको सुनुवाइ प्रत्यक्ष रूपमा हेर्न पाउने अधिकार हुनुपर्ने रिट निवेदनमार्फत् माग गरेका छन् ।

निवेदकहरूले सर्वोच्च अदालतलाई यथाशीघ्र प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउन र यस सम्बन्धमा स्पष्ट नीति तथा निर्देशिका तयार पार्न पनि उनीहरुको माग छ । आफुहरुले सर्वोच्चआ दायर गरेको रिट निवेदनले नेपालको न्यायिक प्रणालीमा एक नयाँ अध्यायको सुरुवात गर्ने विश्वास गरेका छन् ।