फाइल तस्वीर
काठमाडौँ, भदौ ३० गते ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख दलहरूको बैठक आह्वान गर्नुभएको छ । सत्ता पक्ष एमाले र प्रमुखप्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच उत्पन्न विवादले भएको गतिरोध हटाएर प्रतिनिधिसभा बैठक सुचारु गर्न आज आइतबार मुख्यदलहरुबीच छलफल गर्न बैठक आह्वान गर्नुभएको हो ।

सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा बिहान ११ बजेका लागि आह्वान गरिएको बैठकमा सत्तारुढ दल नेकपा एमाले, नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमखु सचेतक र सचेतकहरुलाई बोलाउनुभएको छ ।

सरकारको नेतृत्व गरेको एमाले सांसद योगेश भट्टराईले दुई हप्ता अघि प्रतिनिधिसभाको बैठकमा माओवादीप्रति लक्षित गर्दै दशवर्षे सशस्त्र युद्धलाई ‘हिंसा’ को रुपमा चित्रण गरेपछि माओवादीले त्यो शब्दप्रति बैठकमा नियमापत्ति गर्दै संसद अवरुद्ध गरेको थियो । सभामुख घिमिरे पनि ‘हिंसा’ शब्दलाई हटाउनु नपर्ने कुराको जानकारी सदनलाई जानकारी गराएपछि माओवादीका सांसदहरुले सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन् । माओवादीले ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटाएसम्म संसदमा अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले सदनमा उत्पन्न गतिरोध हटाएर सदनलाई सुचारु गर्न छलफलका लागि राष्ट्रिय दलहरूको बैठक बोलाएको हो ।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यसअघि नै विवादित विषयलाई टुङ्ग्याएर सदनको नियमित कार्य अघि बढाउन सभामुख घिमिरेले आफ्नो सक्रियता देखाउनु भएको हो ।