काठमाडौँ, भदौ २९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारका विषयगत मन्त्रालयले बालबालिकाका क्षेत्रमा नतिजामूलक कार्य गर्नका लागि लगानी वृद्धिको आवश्यकता औँल्याउनुभएको छ ।

राष्ट्रिय बाल दिवस–२०८१ का अवसरमा महिला मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका लगानी तथा बाल संरक्षणका विविध सवाललाई सम्बोधन गर्न यस आर्थिक वर्षको नीति र बजेट व्यवस्थाले समेत त्यसको अनुभूति भएको धारणा राख्नुभयो ।

मन्त्री सुडीले सरकारले बालबालिकासम्बन्धी विभिन्न कानुन, नीति, योजना तथा कार्यक्रममार्फत बालबालिकाको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । “हरेक विकास र परिवर्तनसँगै नयाँ समस्या पनि सिर्जना हुन पुग्छन् । आजका दिनमा बालबालिकाको संरक्षणका सवालमा हामी नयाँ प्रकारका समस्या र चुनौतीको सामना गरिरहेका छौँ । बालबालिकाविरुद्ध हिंसा, बाल यौन दुर्व्यवहार, बालश्रम, बाल विवाह र लैङ्गिक विभेद तथा अन्य असमानता जस्ता समस्याले उनीहरूको उज्ज्वल भविष्यमा नकारात्मक असर पार्ने अवस्था छ । यसलाई उन्मूलन गर्नु हामी सबैको साझा दायित्व र जिम्मेवारी हो”, उहाँले भन्नुभयो ।

सोही अवसरमा सांसद सीताकुमारी रानाले पछिल्लो समय बालबालिका यौन हिंसा र दुव्र्यवहारका समस्या बढ्दै गएकाले राज्यले यस क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित आज देशैभरि राष्ट्रिय बाल दिवस मनाइएको छ ।