माकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।
विराटनगर, भदौ २९ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका केही फरार अभियुक्त गिरफ्तार भएपछि आफ्नो नेतृत्वको सरकार ढलेको दावी गर्नुभएको छ । आज शनिबार मोरङमा आयोजित पार्टी कार्यक्रममा बोल्दै माकेका अध्यक्ष प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको सुई बालकोट र बुढानीलकण्ठतिर सोझिएपछि सरकार ढलेको दावी गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले ‘नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित केही फरार अभियुक्तलाई गिरफ्तार गरियो, सुशासनको सुई बालकोटतिर पनि सोझियो, बुढानीलकण्ठतिर पनि सोेझियो । जब भ्रष्टाचार विरोधी अभियानको सुई उता सोझियो, एक खालको आतङ्क नेताहरुमा पैदा भयो एकखालको डर र एकखालको भय उत्पन्न भयो अनि सरकार ढल्यो’ भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले ‘आफुले राम्रो काम गर्न खोज्दा खोज्दै कुनै पनि अभियोग नलाग्दा नलाग्दै पनि तथाकथित सङख्याको बलमा बडो अप्राकृतिक रुपमा अस्वाभाविक रुपमा आफ्नै नेता कार्यकर्तालाई जानकारी नदिई पहिलो र दोस्रो पार्टीका बीच गठबन्धन भयो र सरकार बदलिने परिस्थिति बन्यो’ भन्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बचेन झाको गिरफ्तारीलगतै सत्तामा रहेको एमाले र प्रमुख प्रतिपक्षी दलबीच असार १७ गते मध्यरातमा सात बुँदे सहमति गरेर प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिएको थियो ।