मकवानपुर, भदौ २९ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्न सकोस् भनी कामना गर्नुभएको छ । आज मनाइँदै गरिएको ६०औँ बाल दिवसको अवसरमा उहाँले एक सूचना जारी गर्दै बालबालिकाको उचित पालनपोषण, शिक्षा, समग्र व्यक्तित्व विकास गर्न आवश्यक अवसर र सुविधाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख देवकोटाद्वारा जारी सन्देशमा नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रुपमा सुनिश्चित गरी आवश्यक नीति, कानुन र संस्थागत संरचना निर्माण गरेको उल्लेख गरिएको छ । 

उहाँले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, गैरसरकारी सङ्घसंस्था, नागरिक समाज, अभिभावक, विद्यालयलगायत अन्य सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

राज्यबाट संवैधानिक, नीतिगत, कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिका अझै पनि बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास र सहभागिताको आधारभूत अधिकारबाट वञ्चित रहेका जनाउँदै प्रदेश प्रमुख देवकोटाले बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने दायित्व रहेको बताउनुभयो ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्रले निर्वाह गर्दै आएको भूमिकाप्रति प्रदेश प्रमुख देवकोटाले हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । विसं २०६३ देखि नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो ।