काठमाडौँ, भदौ २८ गते । संवैधानिक परिषद्को आजको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिस विवादरहित तुल्याउन थप अध्ययन र छलफल गर्ने निश्कर्ष निकालेको छ ।

बैठकमा सहभागी सदस्यहरूले परिषद्का निर्णयलाई विवादरहित तुल्याउन निर्णय अघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राख्नुभएको थियो ।

सर्वोच्च अदालतका वर्तमान प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज १९ गते पदावधि सकिँदैछ । रिक्त हुने उक्त पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट परिषद्ले नाम सिफारिस गरी सङ्घीय संसद्मा संसदीय सुनुवाई समितिमा पठाउनेछ ।

परिषद्को यही भदौ ३१ गते बस्ने बैठकले यस सम्बन्धमा आवश्यक निर्णय लिने उपसभामुख इन्दिरा रानाले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीशकै सिफारिस हुने भए पनि त्यसमा त्रुटीरहित र विवाद नआओस् भन्नका लागि थप अध्ययन गर्ने सहमति बनेको हो ।” परिषद्बाट हुने निर्णय परिपक्क तुल्याउन यस्ता अध्ययन र छलफल फलदायी हुने विश्वास व्यक्त गर्दै उहाँले यसले राम्रो अभ्यासको थालनी र परिपक्क निर्णय हुने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैठकमा प्रधान न्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सहभागी हुनुहुन्थ्यो ।