फाइल तस्वीर
काठमाडौँ, भदौ २८ गते । सहकारी संस्थाको रकम गठी र अपचलन भएको सम्बन्धमा अध्ययन अनुसन्धान गर्न बनेको संसदीय छानविन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन जुटेको छ । आज शुक्रबार बसेको उक्त समितिको बैठक प्रतिवेदनलाई अन्तिम रूप दिने तयारीमा जुटेको हो ।

समितिले अब गृहमन्त्री, गृहमन्त्रालयका सचिव र प्रहरी प्रमुखसँग पनि छलफल र परामर्श गरेको प्रतिवेदन बनाउँदै छ । समितिका सभापति सूर्यबहादुर थापाले उहाँहरुलाई छलफलका लागि बोलाउन लागिएको बताउनुभयो ।

सहकारीमा सर्वसाधारण नागरिकहरुले बचत गरेको रकम हिनामिना गरी फरार रहेका प्रतिवादीहरूलाई स्वदेश झिकाउने विषयमा समितिले गृह प्रशासनको प्रगति विवरण लिन लागेको छ । सहकारी गठी प्रकरणमा मुछिएका विदेश फरार भएका व्यक्तिहरुलाई स्वदेशमा ल्याउन समितिले गत साउन १३ गते निर्देशन दिएको थियो ।

प्रतिनिधिसभाको बैठकले सहकारी ठगी प्रकरणको अध्ययन अनुसन्धान गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन एमालेका सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा चार सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको थियो । समितिले तोकिएको समयमा काम सम्पन्न गर्न गरी प्रतिवेदन तयार गर्न थप १५ दिन समय मागे र प्रतिनिधिसभाको बैठकले १५ दिनको समय थपेको छ । समितिले अब एक साताभित्रै संसदलाई प्रतिवेदन बुझाउनुपर्ने हुँदा उक्त समिति प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा जुटेको छ ।