ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का
चितवन, भदौ २८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युत पुर्‍याउने दावी गर्नुभएको छ । चितवन पुग्ने भएको उर्जामन्त्री खड्काले पत्रकारसँग कुरा गर्दै विद्युतको आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत सेवा पुर्‍याउन लागिएको दावी गनुभएको हो ।

 उर्जामन्त्री खड्काले नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत सम्बन्धी व्यवसाय भएको भन्दै यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताउनुभयो । मन्त्री खड्काले भन्नुभयो, “निर्माणको समय भएकाले कहिलेकाही समस्या देखिने गरेको छ । यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।” 

विद्युतको उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उहाँको भनाइ थियो । हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाही समस्या आउने गरेको मन्त्री खड्काले बताउनुभयो । 

मन्त्री खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लाइन काटेर समस्याको समाधान हुँदैन । पैसा असुल गर्ने कानुनी बाटाहरु छन् । कानुनमा व्यवस्था गरिएअनुसार रकम असुल गर्नेछौँ ।” व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महसुल बुझाउनुपर्नेमा जोड दिँदे उहाँले अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने उल्लेख गर्नुभयो ।