तस्वीर तीन मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ ।
विराटनगर, भदौ २८ गते । कोशी प्रदेशमा सरकार विस्तार भएको छ । केन्द्रीय सत्ता परिवर्तनसँग प्रदेशमा पनि सत्तासमीकरणमा फेरबदल भएको लामो समय पछि कोशी प्रदेश सरकार विस्तार भएको हो ।


सत्ता समीकरणको नयाँ गठबन्धन बनेपछि काङ्ग्रेसभित्रको आन्तरिक कलहले काङ्ग्रेस सरकारमा सामेल भएको थिएन । आन्तरिक किचलोका कारण भागबण्डा गर्न नसकेको पछि अन्ततः काङ्ग्रेस संस्थापन पक्षबाट सरकारमा सहभागी भएको छ । संस्थापन इतर पक्षबाट मन्त्रिपरिषदमा कुनै सदस्य सामेल छैनन् ।


यसअघि सत्ता गठबन्धनका मुख्य दुई दल एमाले र काङ्ग्रेसबीच बराबरी मन्त्रालय लिने गरी सहमति भएको थियो । कोशी प्रदेशमा नौ मन्त्रालय छन् । बराबर मन्त्रालय लिने गरी सहमति जुटेता पनि काङ्ग्रेसले एमाले नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पठाउन सकेको थिएन ।

अन्ततः डेढ महिना पछि काङ्ग्रेस संस्थापन पक्षबाट आज शुक्रबार तीन मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएर मन्त्रालयको जम्मेवारी सम्हालेका छन् । डाक्टर शेखरका लागि स्वास्थ्य मन्त्रालय राखिएको छ । संस्थापन इतर पक्षका नेता डा.शेखर देश बाहिर रहनुभएकाले मन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा काङ्ग्रेसले निर्णय गर्न सकेको छैन ।

कोशी प्रदेशमा शेखर पक्षीय आठ जना सांसद छन् । उक्त समूहले संस्थापन पक्षसँग दुई मन्त्रालय दावी गर्दै आएको थियो । अब शेखर समूहबाट एक जना मन्त्री र एक राज्यमन्त्री गरी दुई जना सरकारमा सहभागी हुने छन् ।

प्रदेश काङ्ग्रेसका महामन्त्री भुपेन्द्र राई नेतृत्वमा काङ्ग्रेस सरकारमा सामेल भएको छ । काङ्ग्रेसका नेता राईले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ भने भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नुभएको छ । उहाँहरु दुवै जना नेता कृष्णप्रसाद सिटौला निकट मानिनुहुन्छ ।

यसैगरी उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी खगेनसिह हाङ्गामलाई र सदानन्द मण्डललाई पर्यटन, वन, वातावरण मन्त्रालयको जिम्मेवारी परेको छ । मन्त्री हाङ्गाम र मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्कीको समूहका हुन् ।