फाइल तस्वीरः सवारी दुर्घटनामा परी निधन हुनुभएकी पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा ।
काठमाडौँ, भदौ २८ गते । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको दुर्घटनापरी मृत्यु भएको छ । आज बिहान करिब पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा भएको सरकारी जीप दुर्घटना हुँदा उपाध्यक्ष बुढासहित तीन जनाको मृत्युभएको हो ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार रहेका बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताउनुभयो ।प्रजिअ सुवेदीका अनुसार उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरु पनि रहेका थिए ।

यसैगरी रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधव शर्माका अनुसार गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा काठमाडौँबाट फर्किंदै गर्दा उहाँ सवार गाडी दुर्घटना परेको हो । दुर्घटनास्थलमा उपाध्यक्षको परिचय पत्रसमेत भेटिएको छ । गाडी दुर्घटनामा परेको खबर थाहा पाउने वित्तिकै उद्दारका लागि प्रहरी र सेना खटिएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।