काठमाडौँ, भदौ २८ गते । सरकारले पेरिस पारालिम्पिक्समा कांस्य पदक विजेता पलेशा गोवर्द्धनलाई ६५ लाख नगदसहित सम्मान गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता गोवर्द्धनसहित प्रशिक्षकहरूलाई नगद र प्रशंसापत्रसहित सम्मान गर्नुभएको हो ।

त्यस्तै, सरकारले खेल प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार र टीम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रदान गरिएको हो । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले पलेसाले पुरस्कारस्वरुप प्राप्त गर्ने रकमा कर छुट गर्ने निर्णय गरेको थियो।

फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिक २०२४ मा पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।

युुवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताउनुुभयो । उहाँले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताउनुुभयो ।

कार्यक्रममा युुवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीलगायत सहभागी हुनुहुुन्थ्यो । मन्त्री चौधरीले पलेशाको उच्च शिक्षाको अध्ययन र आगामी एसियाली खेलकुदमा सहभागिताका लागि समन्वय गर्ने विषयमा मन्त्रालयले पहल गर्ने बताउनुुभयो ।