फाइल तस्वीर
काठमाडौँ, भदौ २८ गते ।
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले संसदीय दलको बैठक आह्वान गरेको छ । सिंहदरबारस्थित माकेको संसदीय दलको कार्यालयमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।

माके संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार देशको पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा आफ्नो दललाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुनेछ ।

आजको बैठकमा संवैधानिक परिषद्को बारेमा पनि छलफल हुनसक्ने बताइएको छ । सत्तापक्षले रास्वपाबाट उपसभामुख बन्नुभएकी सामाजिक अभियन्ता इन्दिरा रानालाई पदबाट हटाएर काङ्ग्रेसबाट उपसभामुख बनाउने खेलमा काङ्ग्रेस–एमाले लागेका छन् । मुलतः संवैधानिक परिषद्मा नेपाली काङ्ग्रेसको कुनै भूमिका नरहेको अवस्थाले सत्तापक्ष उपसभामुख रानालाई हटाउन महाअभियोग लगाउने हर्कतसम्म पुगेका छन् ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ । यो व्यवस्था अनुसार वर्तमानमा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दलबाट प्रचण्ड र राष्ट्रियसभाबाट अध्यक्ष नारायणप्रसाद दाहाल र उपसभामुख इन्दिरा राणा हुनुहुन्छ ।

संवैधानिक परिषद्मा नेपाली काङ्ग्रेसको प्रतिनिधित्व नभएपछि उपसभामुख रानालाई हटाउन एमालेको काँधमा बन्दुक राखेर विभिन्न आरोप लगाउँदै आएको छ । माकेको संसदीय दलको बैठकमा यस बारेमा पनि छलफल हुने बताइएको छ ।

संवैधानिक परिषद्को बैठक बस्ने विषयमा हिजो एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली, काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माकेका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा बैठक बसेको थियो । उक्त बैठक पछि प्रधानमन्त्री केपी ओलीले आज शुक्रबबार संवैधानिक परिषद्को बैठक डाक्नुभएको छ ।