काठमाडौँ, भदौ २८ गते । संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बोलाउनुभएको हो ।


सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाने हुनुभएपछि सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीश सिफारिस हुन लागेको हो । संविधानको धारा २८४ (३) बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन । पूर्व तयारी नपुगेको भन्दै बुधबारका लागि बोलाइएको बैठक आजका लागि सरेको हो ।

न्यायपरिषद्ले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आठ न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । सर्वोच्चको न्यायाधीशको वरिष्ठतामा न्यायाधीश प्रकाशमानसिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, र कुमार चुडालको नाम परिषद्मा पठाएको हो ।