फाइल तस्वीरः पूर्वसांसद् डा ढाकाकुमार श्रेष्ठ ।
पोखरा, भदौ २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद् डा ढाकाकुमार श्रेष्ठ पक्राउ पर्नुभएको छ । पोखरा–२४ निवासी ४८ वर्षीय पूर्वसांसद डा श्रेष्ठलाई लागुऔषध बिक्री–वितरण गरेको आरोपमा प्रहरीले हिजो पक्राउ गरेको हो ।

लागुऔषध ट्याबलेट ९७ चक्कीसहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका–४ बस्ने ४२ वर्षीय प्रकाश थापामगरले पोखरा–९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट सो लागुऔषध खरिद गरी ल्याएको बयान दिएपछि प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार फार्मेसीका सञ्चालक डा श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्नुभएका डा श्रेष्ठलाई रकम लेनदेनको अभियोग लागेपछि रास्वपाले उहाँलाई तत्कालै कारवाही गरी सांसद्बाट हटाउँदै पार्टीबाट समेत निष्काशन गरेको थियो ।