लेखनाथ, भदौ २७ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा.शशाङ्क कोइरालाले नेपाल कृषि उत्पादनका लागि उपयुक्त स्थान भएकाले कृषि क्षेत्रबाट नै समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । बिपी चिन्तन प्रतिष्ठान गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘नेपालमा कृषि क्रान्ति :सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले भन्नुभयो, “सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।

युवालाई कृषितर्फ आकर्षण गर्न जरुरी भएको उल्लेख गर्दै उहाँले आफ्नो परिवारको मुख्य पेसा पनि कृषि नै भएको बताउनुभयो । नेपालमा थुपै्र कृषियोग्य भूमि भएकाले त्यसको सदुपयोग गर्दै विदेशबााट आयात गरिने खाद्यान्न तथा तरकारीको परिमाण घटाउँदै जानुपर्ने नेता कोइरालाको भनाइ थियो । “कृषिमा आत्मनिर्भर हुन सके नेपालको अर्बाँै रुपैयाँ नेपालमै रहन्छ”, उहाँले भन्नुभयो । 

नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपी कोइरालाको विचारलाई आत्मसात गर्दै कृषि क्रान्ति ल्याउन सके नेपालीको भविष्य यसैमा हुने बताउनुभयो । प्रजातन्त्रमा नेपाली जनता नै मालिक हुने भएकाले उनीहरु कै सेवामा दलका नेताहरु लाग्नुपर्ने उहाँको भनाइ थियो । कृषिलाई केन्द्रविन्दुमा राखेर सरकारले अनुदान र कृषिमा आधुनिकीकरण गर्न आवश्यक रहेको सभापति शर्माले बताउनुभयो । 

नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले ६८ प्रतिशत जनता कृषिमा आबद्ध भएको नेपालमा कृषिलाई वैज्ञानिकीकरण गर्दै मध्यम वर्गका युवालाई त्यसतर्फ आकर्षण गर्न जरुरी रहेको बताउनुभयो ।  

नेकपा (माओवादी केन्द्र) का नेता हरिबहादुर चुमानले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन कृषिमा ठूलो क्रान्ति ल्याउनुपर्ने बताउनुभयो । जमिन भएर पनि हामीले कृषि क्षेत्रमा विकास गर्न नसक्नु विडम्बना भएको उहाँको भनाइ थियो । “कृषि नीति बलियो भयो भने देशले कृषि क्षेत्रमा काचुली फेर्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य ऋषि काफ्लेले पनि आफ्नो धारणा राख्नुभएको थियो ।