काठमाडौँ, भदौ २६ गते । नेपाली काङ्ग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्दै छ । बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा अहिले बिहान ८:३० बस्ने भएको हो ।

बैठकमा पार्टीका नेता एवम् सांसद् धनराज गुरुङ र उपसभामुख इन्दिरा रानाबारे छलफल हुने बताइएको छ । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउनेबारे एमालेसँग भएको सहमतिअनुसार अब कसरी अघि बढ्ने भन्ने छलफल गर्न र पार्टीका उपसभापति गुरुङमाथि सहकारीको बचत अपचलनको आरोप लागेको विषयमा पनि छलफल गर्न बैठक बस्न लागेको हो ।
उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिका जानका लागि केही मानिसहरूलाई सिफारिस गरेर दूतावासलाई पत्र लेखेको भन्दै प्रतिनिधि सभामा प्रश्न उठेको छ ।

यस्तै; काङ्ग्रेस सांसद् धनराज गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।
गुरुङले भने सो सहकारी ठगी प्रकरणमा पूर्वश्रीमती ज्योति गुरुङले जोडिएकी र आफूहरूबीच २०७६ फागुनमै डिभोर्स भइसकेको भन्दै सो मामिलामा आफूलाई जोड्न नहुने तर्क गर्नुभएको छ ।