फाइल तस्वीर
काठमाडौँ, भदौ २५ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाका समस्या समाधान गर्नु आफ्नो मन्त्रालयको प्राथमिकता भएको बताउनुभएको छ ।

राष्ट्रियसभामा विभिन्न मितिमा सांसदहरुले उठाएका प्रश्नको मङ्गलबार जवाफ दिने क्रममा उहाँले रुग्ण ठेक्का व्यवस्थापन गर्न आफू नेतृत्वको मन्त्रालयबाट सहसचिवको संयोजकत्वमा अध्ययन भइरहेको बताउनुभयो । त्यस्ता आयोजनाको समस्या समाधानका लागि सुझाव दिन निर्माण व्यवसायी महासङ्घलाई पनि अनुरोध गरिएको उल्लेख गर्दै मन्त्री दाहालले अध्ययन प्रतिवेदन प्राप्त भएपछि आवश्यम निर्णय हुने जानकारी दिनुभयो ।

देशभर करिब पाँच हजार किलोमिटर सडक मर्मतका क्रममा रहेका जानकारी दिँदै उहाँले सबै सडकलाई खाल्डाखुल्डीरहित बनाउने योजना सुनाउनुभयो । सवारी चालक अनुमतिपत्र वितरणमा समस्या भएको स्वीकार गर्दै मन्त्री दाहालले समाधानका लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । चाँडै नै सवारी चालक अनुमतिपत्र प्रदेशस्तरबाट नै वितरण गरिने जानकारी उहाँले दिनुभयो ।

साथै उहाँले प्रधानमन्त्रीका तर्फबाट महान्यायाधिवक्ताको प्रतिवेदन २०७९/८० पनि पेस गर्नुभयो ।