काठमाडौँ, भदौ २५ गते । सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिनुभएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि काठलगायत वन पैदावारको आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

बैठकको विशेष समयमा बोल्दै सांसद नारायणदत्त मिश्रले मुलुकमा वन र कृषिविज्ञ भए पनि  देशमा कृषि उपज तथा काठ आयात भइरहेको उल्लेख गर्नुभयो । उहाँले कृषि तथा वनपैदावार आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । “हामी वनजङ्गलको धनी मुुलुक भन्छौँ, वनमा बुढा काठ सडाएर विदेशबाट काठ ल्याउनु उपयुक्त होइन । तसर्थ स्वदेशी जङ्गलका काठ व्यवस्थापन गरेर विदेशी काठ आयात प्रतिस्थापन गर्नुपर्छ,” उहाँले भन्नुभयो, “हामी कृषिप्रधान मुलुक भन्छौँ तर कृषिजन्य वस्तु आयात गरेर मुलुक कहिले धनी बन्छ  ? कृषि उत्पादन बढाउन सरकारले जोड दिनुपर्छ ।”

यसैगरी, उहाँले विदेशी ऋण मुलुकको आवश्यकताका आधारमा मात्रै लिनुपर्ने बताउनुभयो । मिश्रले निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो । 

सांसद तुलसाकुमारी दाहालले नालापानीको युद्धमा विगतमा मुलुकलाई जोगाउने नेपालीको बहादुरीको प्रशंसा गर्नुभयो । सांसद झक्कुप्रसाद सुवेदीले ठूला शक्तिशाली पार्टीसँगसँगैै सरकारमा बसेको संसदीय दलमा अहिलेसम्म कुनै ‘रेकर्ड’ नभएको भन्दै यी ठूला दलले मात्रै संविधान संशोधन गर्नुपर्नेमा जोड दिनु गम्भीर विषय भएको बताउनुभएको छ । “यो संविधान धेरैको बलिदानबाट आएको हो, यो संविधान नेपाली जनताको घर हो,” उहाँले भन्नुभयो, “तसर्थ दुई ठूला पार्टीले मात्रै संविधान संशोधन गर्न सक्दैन, यो कदापि मिल्दैन ।”