कास्की, भदौ २५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदिप गुरुङ निर्वाचित हुनुभएको छ । यही भदौ २३ गतेदेखि पोखरामा सुरु भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान सार्वजनिक मतपरिणामअनुसार गुरुङ एक सय ३७ मतसहित विजयी हुनुभयो ।

उहाँका प्रत्याशी रामकृष्ण भट्टले ७१ मत ल्याउनुभयो । खुला उपाध्यक्षमा बसन्त भट्टचन (कास्की), सरोजवल्लभ भट्टराई (गोरखा), अशोक मरहठ्ठा (गोरखा) विजयी हुनुभयो । यसैगरी समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा (बागलुङ) र महिला उपाध्यक्षमा सीता बराल(तनहुँ) निर्विरोध हुनुभएको छ ।

प्रमुख सचिवमा सुजन बाँस्तोला (कास्की) तथा सचिवमा खुलातर्फ प्रदीप ढकाल (गोरखा), विशद उपाध्याय(नवलपुर) र सन्दिप महतो(नवलपुर) निर्वाचित हुनुभयो । महिला सचिवमा जुना गुरुङ (लमजुङ), समावेशीमा दुर्गा विक (लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार(बागलुङ) निर्विरोध हुनुभएको निर्वाचन समितिका संयोजक अधिवक्ता निर्मला क्रान्तिले जानकारी दिनुभयो । क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्सीय रहेको छ ।

सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनित गरिने निर्वतमान अध्यक्ष सुदिन पौडेलले जानकारी दिनुभयो । निर्वाचन समिति सदस्यमा विपीन आचार्य र अमरदिप पराजुली रहनुभएको थियो ।