काभ्रे, भदौ २५ गते । नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो ।

प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली काङ्ग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार रु १५ लाखको लागतमा ढलौटको सालिक बनेको हो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा सङ्कलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताउनुभयो ।  

आगामी असोज ५ गते नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ । बनेपा–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ । यो बाटोलाई बिपी राजमार्ग भनिन्छ । जापान सरकारको अनुदानमा बिपी राजमार्ग निर्माण भएको हो ।