फाइल तस्वीर
गुलरिया, भदौ २५ गते । बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रकृति पथप्रदर्शक मनमोहन चौधरीका परिवारलाई राहत हस्तान्तरण गरिएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित शिव सामुदायिक वनमा गत शुक्रबार गैँडाको आक्रमणमा परी मृत्यु भएका वरिष्ठ प्रकृति पथप्रदर्शक मनमोहन चौधरीका परिवारलाई राहत हस्तान्तरण गरिएको हो ।

अमेरिकी पर्यटक शावन एमसीलाई जङ्गल लिएर गएका बेला संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडाको आक्रमणमा परी ठाकुरबाबा नगरपालिका–९ निवासी ३७ वर्षीय चौधरीको मृत्यु भएको थियो ।

वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको पीडितसँग प्रदेश सरकार कार्यक्रमअन्तर्गत मृतकका बाबु तिदुराम चौधरीलाई डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामकुमार चौधरीमार्फत लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले एक लाख रुपैयाँ राहत रकम हस्तान्तरण गर्नुभएको छ । 

मन्त्री कुर्मीले पर्या–पर्यटनका क्रममा अकस्मात वन्यजन्तुबाट भएको दुर्घटना दुःखद् भएको बताउँदै परिवारमा धैर्यधारणको कामना गर्नुभयो । यस क्षेत्रमा मानव वन्यजन्तुबीच द्वन्द्व रहेकाले तीन तहकै सरकारको पहलमा काम गर्नुपर्ने बताउनुभयो । मृतकका पीडित परिवारलाई बाँकी राहत उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउने पनि उहाँको प्रतिबद्धता छ । 

मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले वडामा दुःखद् घटना घटेकाले मृतका पीडित बालबालिकालाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधुवन क्षेत्रमा वन्यजन्तुबाट बर्सेनि ठूलो मात्रामा धनजनको क्षति हुने गरेकाले दीर्घकालीन समस्या समाधानका लागि योजना बनाउन प्रदेश सरकारसँग अनुरोध गर्नुभएको छ । दुई ठूला निकुञ्जलाई जोड्ने मधुवनमा अवस्थित खाता जैविकमार्गलगायत पत्थरबोझी र भगरैया क्षेत्रमा द्वन्द्वको चुनौती रहेको वडाध्यक्ष थापाले स्मरण गराउनुभयो । रासस