काठमाडौँ, भदौ २४ गते । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट बच्न फलफूलका बिरुवा रोप्नुपर्नेमा जोड दिनुभएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाल ट्रेड युनियन काङ्ग्रेस आबद्ध नेपाल राष्ट्रिय सुरक्षा गार्ड श्रमिक सङ्घले सिंहदरबारस्थित बगैँचामा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असरबाट मुलुकलाई बचाउन देशभर यस्ता कार्यक्रममा जोड दिनुपर्ने बताउनुभएको हो ।

रोपिएका बिरुवाको संरक्षण पनि गर्नुपर्ने मन्त्री ठकुरीको भनाइ थियो । पशुपन्छीलगायत जनावरलाई खानाको व्यवस्था गर्न सामुदायिक एवं राष्ट्रिय वनमा पनि फलफूलका बिरुवा रोप्नुपर्ने उहाँले बताउनुभयो । सामुदायिक एवं राष्ट्रिय वनमा वृक्षरोपण गरे बाँदरलगायत जीवजन्तुले बालीनालीमा गर्नेे क्षति कम हुने मन्त्री ठकुरीको धारणा थियो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले वातावरण अनुकुलनका लागि फलफूलका बिरुवाले सहयोग गर्ने बताउनुभयो । ट्रेड युनियन काङ्ग्रेस र आवद्ध संस्थाले यस्ता कार्यक्रमलाई देशव्यापी बनाउने उहाँको प्रतिबद्धता थियो ।

नेपाल ट्रेड युनियन काङ्ग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहालले फलफूलका बिरुवा रोप्दा आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्न सकिने बताउनुभयो । सो अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, राष्ट्रिय सुरक्षा गार्ड श्रमिक सङ्घका अध्यक्ष किशोर ढुङ्गेल, महासचिव जोखेमान बललगायतले फलफूलका बिरुवा रोप्दा वातावरण संरक्षण हुने धारणा राख्नुभएको थियो ।

यसैबीच राष्ट्रिय सुरक्षा गार्ड श्रमिक सङ्घले आजै ललितपुर महानगरपालिकास्थित नख्खु दोबाटोमा पनि वृक्षरोपण गरेको थियो । वृक्षरोपण गर्नुहुँदै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगर क्षेत्रलाई हरियाली बनाउन यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका महासचिव अजय राईले बिरुवा रोप्ने कार्यक्रमलाई देशव्यापी बनाइने बताउनुभयो । दुवै स्थानमा आँप, लिची, कटहर, अम्बालगायतका दुई सय फलफूलका बिरुवा रोपिएको राष्ट्रिय सुरक्षा गार्ड श्रमिक सङ्घका महासचिव बलले जानकारी दिनुभयो ।