काठमाडौँ, भदौ २४ गते । सांसदहरुले नजिकिँदै गएको चाडपर्वमा सुरक्षित यातायात सेवा र महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद बिजुला रायमाझीले आउँदै गरेको चाड दसँैमा काठमाडौँ उपत्यकाबाट लाखाँैको सङ्ख्यामा नागरिक बाहिरिने उल्लेख गर्दै लामो दूरीको यात्रा सुरक्षित बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सवारीसाधन दुर्घटनाको जोखिम न्यूनीकरणका लागि सडक मर्मत र सम्भार गर्न माग गर्नुभयो ।

“मनसुनका कारण पहाडका सडक क्षत्विक्षत् भएका छन् । लामो दूरीका सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ”, सांसद रायमाझीले भन्नुभयो, “लामो समय जाममा बस्नुपर्ने बाध्यता छ । अब दसँैका समयमा काठमाडौँबाट बाहिरने यात्रु यही सडकमा हिँडदा अवस्था के होला ?”

सांसद रामकृष्ण यादवले चाडपर्व नजिकिँदै गर्दा अहिल्यै दैनिक उपभोग्य खाद्यान्नको मूल्य वृद्धि हुनु राम्रो सङ्केत नभएको बताउनुभयो । उहाँले अत्यावश्यक सेवा तथा उपभोग्य बस्तुको महँगी नियन्त्रणका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

“चाडपर्व लक्षित कालोबजारी र कृतिम अभावको नियन्त्रण गर्न सरकारसँग आग्रह गर्छु”, सांसद यादवले भन्नुभयो ।

शून्य समयमा बोल्दै सांसद रेखा शर्माले चाडपर्वको समयमा सडकको स्तरोन्नति नहुँदा सडक दुर्घटना बढनेप्रति सचेत गराउनुभयो । उहाँले बुटवल–नारायणगढ सडक पुनःनिर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै चाडपर्व लक्षित गरेर उक्त सडक खण्ड तत्काल मर्मत सम्भार गर्न माग गर्नुभयो ।

  सांसदद्वय रोशन कार्की  र रुक्मणी राना बराइलीले दसँैको मुखमा खाद्यान्नको मूल्यवृद्धि र अभावले आम नागरिकलाई चार्डपर्वप्रतिको मनोविज्ञानमा डर पैदा गरेको गुनासो गर्नुभयो । उहाँहरुले बजारको अनुगमनसँगै सडक सुरक्षाका लागि आवश्यक सबै प्रकारको तयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । शून्य समयमा सांसदहरुले सर्वोच्च अदातले काठमाडौँ उपत्यकाको बागमतीसहितका नदी किनारमा निर्माण निषेधित क्षेत्र तोक्ने मापदण्डसम्बन्धीको फैसलाप्रति असन्तुष्टी व्यक्त गर्नुभयो ।

  बागमतीसहितका नदी किनारामा २० मिटर खाली छाड्नुपर्ने फैसलाले धेरै परिवार प्रभावित हुने उल्लेख गर्दै सांसद रामहरि खतिवडाले उक्त फैसलामाथि सरकारले छिट्टै पुनरावलोकन (भ्याकेट) मा जान माग गर्नुभयो । 

“सर्वोच्च अदालतको फैसलाका कारण उपत्यकावासी जो नदी किनारमा बसोबास गरिरहेका छन्, उनीहरुको उठिबास हुने भएको छ । सरकारले भ्याकेटमा गएर जनतालाई सहज हुने काम गर्नुपर्छ”, सांसद खतिवडाले भन्नुभयो । उहाँसँगै सांसद मेटमणी चौधरीले पनि उक्त फैसलाको भ्याकेटमा जान माग गर्नुभयो ।

शून्य समयमा सांसद लालप्रसाद सावा लिम्बुले लालपुर्जा वितरणमा भइरहेको ढिलाईप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको लक्ष्यका बाबजुत पनि ठोस उपलब्धी हासिल नभएको भन्दै अधिकारसम्पन्न आयोग गठन गर्न माग गर्नुभयो ।

“अठारवटा भूमि आयोग गठन र विघटन भए पनि १३ लाख भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लालपुर्जा प्राप्त गर्न सकेका छैनन”, सांसद लिम्बुले भन्नुभयो ।

  सांसद भगवती चौधरीले मोरङ र सुनसरीस्थित बुढीखोला करिडोर योजना निर्माण अलपत्र परेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद भीमप्रसाद आचार्यले इनरुवा क्षेत्रको सडक निर्माणलाई तिव्रता दिन सरकारसँग माग गर्नुभयो । 

सांसद मनिष झाले धनुषा जिल्लामा पर्यटनको सम्भावनाका विषय उल्लेख गर्दै  अध्यागमन कार्यालय र इलाका प्रशासन कार्यालयको यथाशिघ्र व्यवस्थापन गर्न माग गर्नुभयो ।

सांसद माधव सापकोटाले  दोलालघाटदेखि तातोपानीसम्मको सडक मर्मत एवं स्तरोन्नति गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 सांसद मीना तामाङले आकस्मिक, शून्य र विशेष समयमा सदनमा उठेका विषयप्रति सरकार जवाफादेही हुनुपर्ने सुझाब दिनुभयो । 

सांसद मङ्गलप्रसाद गुप्ताले भारतीय पर्यटकको सवारी साधानमाथि लाग्ने कर वृद्धिले पर्यटकलाई हतोत्साहित गरेको बताउनुभयो । 

सांसद रणकुमारी बलम्पाकी मगरले मुलुकको समृद्धिका लागि सकारात्मक प्रयास र उदाहरण छायाँमा परेको गुनासो गर्नुभयो । 

सांसद रणेन्द्र बरालीले सत्तापक्ष र प्रतिपक्ष मुलुक निर्माण गर्न एक हुन सुझाव दिनुभयो । 

सांसद रेखा यादवले खेलाडीमाथि सरकारले लगानी बढाउन जोड दिनुभयो । 

सांसद लक्ष्मी तिवारीले मङ्कीपक्सबारे सतर्कता अपनाउन देशका विभिन्न सीमा क्षेत्रमा विशेष सुरक्षा र स्वास्थ्य सतर्कता अपनाउन सरकारसँग माग गर्नुभयो । 

सांसदहरु मुक्ताकुमारी यादव, मेनकाकुमारी पोखरेल, रमा कोइराला पौडेल र राजेन्द्र बजगाइँले मुलुकको समग्र विकास एवं समृद्धिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शून्य समयमा नेपाली काङ्ग्रेसका सांसदहरुले बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा उहाँको स्मरण गर्नुभएको थियो ।